ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्थानीय तह छाडेर संसद् दौड: बालेन, साम्पाङ बाहेक अन्य ९ जनालाई मतदाताले पत्याएनन्
2082 General Election

स्थानीय तह छाडेर संसद् दौड: बालेन, साम्पाङ बाहेक अन्य ९ जनालाई मतदाताले पत्याएनन्

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 7:06 PM 54 views
देश संघीय संरचनामा गएसँगै नागरिकले स्थानीय तहलाई नजिकको सरकारका रूपमा लिने गरेका छन्। संघीयताको व्यावहारिक अभ्यास गर्ने पहिलो र महत्त्वपूर्ण खुड्किलो नै स्थानीय सरकार हो।...

देश संघीय संरचनामा गएसँगै नागरिकले स्थानीय तहलाई नजिकको सरकारका रूपमा लिने गरेका छन्। संघीयताको व्यावहारिक अभ्यास गर्ने पहिलो र महत्त्वपूर्ण खुड्किलो नै स्थानीय सरकार हो।

यसै संरचनामार्फत जनताको प्रत्यक्ष प्रतिनिधित्व, जनसहभागिता, पारदर्शिता, जवाफदेहीता र समावेशी विकासको अवधारणा कार्यान्वयन हुने गरेको छ।

तर, जनताको म्यान्डेट र स्थानीय सरकारको संवैधानिक हैसियतलाई बेवास्ता गर्दै पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका जनप्रतिनिधिहरूलाई यसपटक मतदाताले पत्याएका छैनन्।

सांसद बन्ने महत्त्वाकांक्षासहित स्थानीय तहको जिम्मेवारी बीचमै छाडेर चुनावी मैदानमा उत्रिएका ११ जना उम्मेदवारमध्ये ९ जनाले लज्जास्पद हार व्यहोरेका छन्। यस निर्वाचनमा राजीनामा दिएर आएकामध्ये जम्मा दुई जना मात्रै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गरे।

देशकै चर्चित निर्वाचन क्षेत्रको रूपमा रहेको झापा-५ बाट तीनपटक प्रधानमन्त्री र ५ पटक सांसद भएका ओलीलाई शाहले पहिलो प्रयासमै ऐतिहासिक मतान्तरसहित पराजित गरेका हुन्।

बालेनले ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गरे। उनले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मतमा सिमित रहे।

तर, स्थानीय सरकारको संवैधानिक हैसियत भएको स्थानीय तहको पाँच वर्षे कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका ११ जनामध्ये दुई जना मात्रै निर्वाचित भएका छन्। अरु नौ जनाले लज्जास्पद हार व्यहोरेका छन्।

धरानको मेयर पदबाट राजीनामा दिएका हर्कराज राई साम्पाङ सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३५ हजार ७४१ मतसहित निर्वाचित भए। उनले रास्वपाकी गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतान्तरले पछि पारे। तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्।

शाह र साम्पाङ बाहेक अरु नौ जना जनप्रतिनिधिले भने लज्जास्पद पराजय ब्यहोरेको छन्। नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नम्बर-३ मा उम्मेदवार भएकी रेनु दाहालले ठूलो मतान्तरले पराजित भइन्।

उनी रास्वपाकी सोविता गौतमसँग ३८ हजार ६ सय ६२ मतले पछि परिन्। गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदा दाहाल २० हजार ६ सय १५ मतमा सीमित भइन्।

टिकापुर नगरपालिकाको मेयर पदबाट राजीनामा दिएका रामलाल डगौराले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजय भोगे। कैलाली क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार डगौरालाई रास्वपाकी कोमल ज्ञवालीले दोब्बर मतान्तरले पराजित गरिन्। ज्ञवालीले १७ हजार ८२६ मत ल्याउँदा मेयर राजीनामा गरेका डगौराले ८ हजार ३९२ मत ल्याएर तेस्रो भए।

धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठले पनि पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए।

काभ्रे–२ बाट एमालेको तर्फबाट उम्मेदवार भएका उनी रास्वपाका बदनकुमार भण्डारीसँग ३९ हजार ४०४ मतान्तरले पराजित भए। उनले १३ हजार ९४० मत ल्याउँदा भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरे।

त्यस्तै, इलाम क्षेत्र नम्बर–१ मा सूर्योदय नगरपालिकाका निवर्तमान मेयर रणबहादुर राईले लज्जास्पद हार बेहोरेका छन्।

इलाम-१ मा नेपाली कांग्रेसका निश्कल राई १४ हजार ५४३ मतसहित निर्वाचित भए। यो क्षेत्रमा चौथो रोजाइमा परेका रणबहादुर राईले सात हजार ६६५ मत मात्र प्राप्त गरे। यहाँ मत गणना अवधिभर कांग्रेसका राई एमालेका काजिमान कागते र श्रम संस्कृतिका विनोद लिम्बूबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका मेजरकुमार राई भने ९० भोटमा सीमित भए। उदयपुर–१ मा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत ल्याएर निर्वाचित भए।

ओखलढुंगा लिखु तामाकोशी गाउँपालिकाकी उपप्रमुख अस्मिता थापा पनि रास्वपाका उम्मेदवार विश्वराज पोखरेलसँग पराजित भइन्। केही महिनाअघि मात्रै रास्वपा प्रवेश गरेका पूर्वएआईजी पोखरेलले कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई ५ मतले पराजित गरे। नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा गरेर उम्मेदवार भए पनि उनी चौथो भइन्।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका एमालेका खिमबहादुर थापालाई रास्वपाका झवीलाल डुम्रेले पराजित गरे। डुम्रेले २५ हजार ३५४ मत ल्याउँदा थापा १४ हजार १०८ मत पाएर तेस्रो भए।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले कार्यकाल नसकिँदै राजीनामा गरी संघीय सांसदको उम्मेदवार बन्न खोज्दा जमानत समेत जोगाउन सकेनन्।

राईलाई नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले पराजित गरे। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बाँके–२ मा उम्मेदवार भएका कमरुद्धिन ९०८ मत ल्याएर छैटौं भए।

मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाललाई २५ हजारभन्दा बढी मतान्तरसहित रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरे। कार्कीले ४० हजार ९२४ मत ल्याउँदा पूर्वमेयर अग्रवालले १५ हजार ६२४ मत ल्याए।

election election 2082