ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

‘म्यागासेसे’ विजेता महावीरको संसद् यात्रा, दलको किल्ला तोड्दै स्वतन्त्र सांसद

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:12 AM 54 views
<p>काठमाडौं । सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म ११ माघ २०११ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत ४ माघमा मन्त्री पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लड्न आएका [&#8230;]</p> <p>The post ‘म्यागासेसे’ विजेता महावीरको संसद् यात्रा, दलको किल्ला तोड्दै स्वतन्त्र सांसद appeared first on RONB post.</p>

काठमाडौं । सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म ११ माघ २०११ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत ४ माघमा मन्त्री पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लड्न आएका थिए ।

अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताए । २०५८–६४ को समयमा पोखरा, काठमाडाैंलगायत शहर बजारमा सहज रूपमा कम्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए ।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे । चौरीपालन, माछापालन, तरकारीखेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ ।

पुनको अगुवाइमा २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई शहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो ।

उनले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँलगायतका ठाउँमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन र वृक्षरोपण हुँदै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन एवं सहयोग गर्न व्यक्तिगत रूपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरी स्रोत जुटाएका थिए । आफ्नै जीवनकथाको पुस्तक बेचेर भएको १२ करोड आम्दानी वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गरेका छन् ।

पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् । पुनको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरूको सांगठनिक शक्तिमाथि हावी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहासिक जित निकालेका म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक विष्णुप्रसाद आचार्यले बताए ।

एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मतका साथ जित निकालेका हुन् । ‘राजनीतिक कार्यकर्ताको दबदवा, नेता–कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छोडेर चुनाव लड्न आएका महावीरलाई चुनौती हुने आकलन र पूर्वअनुमान मिलेन,’ सहायक प्रअ आचार्यले भने, ‘यसपाली लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महावीरलाई जित्न झन सहज बनाएको देखियो ।’

महावीरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरूलाई समाजमा कार्यकर्ताबाहेक पनि मानिस छन् र चुनाव जित्नको लागि संगठन, शक्ति र पैसानै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्यले बताए । अब गठन हुने प्रतिनिधिसभा सदस्यमा दलविहीन सांसद पुन मात्र बनेका छन् । पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनीतिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाइ गर्ने प्रतिक्रिया दिए ।

सामान्य शैलीमा मतदातासँग अनौपचारिक हिसाबले कुराकानी गर्नुका साथै सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गरेका महावीरले विजय उत्सव मनाउने र खुसीयाली साट्ने नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गरेका छन् । महावीरले अपनाएको फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग पाएको विषयले चर्चा पाएको छ ।

सन्तोष गौतम/रासस

The post ‘म्यागासेसे’ विजेता महावीरको संसद् यात्रा, दलको किल्ला तोड्दै स्वतन्त्र सांसद appeared first on RONB post.

parties election 2082