ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आर्थिक असुरक्षा लोकरिझ्याइँको कारक
2082 General Election

आर्थिक असुरक्षा लोकरिझ्याइँको कारक

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 8:54 AM 41 views
ब्रेक्जिट र डोनाल्ड ट्रम्पको पहिलो चुनावी विजयको लगभग एक दशकपछि जनमतवाद अर्थात् लोकरिझ्याइँवाद प्रायः कामदार वर्गका मतदाताको विद्रोहका रूपमा चित्रित छ।...

ब्रेक्जिट र डोनाल्ड ट्रम्पको पहिलो चुनावी विजयको लगभग एक दशकपछि जनमतवाद अर्थात् लोकरिझ्याइँवाद प्रायः कामदार वर्गका मतदाताको विद्रोहका रूपमा चित्रित छ। यो वर्ग परिवर्तनसँग तालमेल गर्न संघर्षरत छ । तर आजका चुनावी परिवर्तनले विश्वका व्यापक जनसंख्यालाई असर गर्ने दैनिक असुरक्षाका अनेक स्वरूपलाई प्रतिविम्बित गर्छन् ।

उपनिर्वाचनको विजय भाषणमा युके हरित पार्टीकी नयाँ निर्वाचित सांसद हन्ना स्पेन्सरले संयुक्त अधिराज्य र विश्वभर आर्थिक असुरक्षा र राजनीतिक असन्तोषबिचको सम्बन्धलाई प्रकाश पारेकी थिइन्। उनका अनुसार कामले मात्र पहिले जस्तो स्थिरता प्रदान गर्दैन। मानिसहरूले कडा परिश्रम त गरिरहेका छन्, तर त्यो कमाइमार्फत हातमुख जोड्न, बच्चाहरूको स्कुल युनिफर्म किन्न, हिटर चालु गर्न र कमाइबाट प्राप्त पेन्सनमा जीवन धान्न सकिरहेका छैनन्।

स्पेन्सरले वर्णन गरेका आम कठिनाइ मैले दशकौंसम्म गरेका अध्ययनका नतिजाले देखाएका आर्थिक असुरक्षाका सूचकहरूसँग मेल खान्छ। यी सबै संकेतहरूले युरोपभर दक्षिणपन्थी र वामपन्थी दुवै पक्षीय जनमतवादको उदयमा आर्थिक दबाबको केन्द्रीय भूमिका रहेको देखाउँछन्।

झन् महत्त्वपूर्ण कुरा के हो भने स्पेन्सरका टिप्पणीहरू केवल चरम कठिनाइका विषयमा मात्र सीमित छैनन्। उनले सामान्य तर गहिरो रूपमा अनुभव गरिएका आर्थिक असुरक्षाका रूपहरू पनि औंल्याइन्, जस्तै ‘कहिल्यै बिदा मनाउन जाने सपना देख्न नसक्नु’। यी दबाबहरू अब केवल गरिब परिवारमा सीमित छैनन्, तर युरोपको मध्यम वर्गमा पनि सामान्य हुँदै गइरहेका छन्।

ब्रेक्जिट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो चुनावी विजयको करिब दशकपछि पनि राजनीतिक असन्तोषलाई रिसाएको अल्पसंख्यक र पछाडि परेका समुदायको क्षेत्रमा अत्यधिक रहेको मानिन्छ। यी वर्गलाई हालैको राजनीतिक अस्थिरताको मुख्य शक्ति मानिन्छ तर अत्यन्त गरिब र अल्पसंख्यकहरू प्रायः राजनीतिबाट अलग रहन्छन् र उनीहरूले मतदान गर्ने सम्भावना सबैभन्दा कम हुन्छ।

बरु, मेरो हालसालै प्रकाशित पुस्तक ‘इन्सेक्युरिटी पोलिटिक्स’मा मैले दाबी गरेको जस्तै, आजका चुनावी परिवर्तनहरूले व्यापक जनसंख्यालाई असर गर्ने सामान्य असुरक्षाका स्वरूपहरूलाई प्रतिविम्बित गर्छन्। असुरक्षाका स्रोतहरूमा बढी कामको बोझ, काममा निरन्तर दबाब, आकस्मिक खर्च पूरा गर्न नसक्ने क्षमता वा बचत निर्माण गर्न नसक्ने अवस्थाहरू पर्छन्।

आश्चर्य के छ भने ‘पछाडि परेका’ मतदाताहरूले राजनीतिक परिवर्तनमा योगदान गरिरहेका छन् भन्ने दाबीको प्रवर्धन गर्ने सबैभन्दा प्रमुख व्यक्ति उग्रदक्षिणपन्थी र रिफर्म युकेका उम्मेदवार म्याथ्यु गुडविन हुन्, जो स्पेन्सरसँग गोर्टन र डेन्टन निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा हारेका थिए। एक शैक्षिक व्यक्तित्वको रूपमा गुडविनले विगत दशकमा ब्रेक्जिटसम्बन्धी प्रभावकारी अध्ययनहरू गरेका छन्, जसमा बेलायत इयुबाट हट्नुपर्छ भन्ने ‘लिभ’ मत मुख्य रूपमा कामदार वर्गको विद्रोह रहेको भनेर विश्लेषण गरिएको छ।

तिनै गुडविनको व्याख्याले ब्रिटिस प्रेसमा व्यापक चर्चा पाएको छ, जबकि यसको वैकल्पिक विश्लेषणलाई कम ध्यान दिइएको छ। उदाहरणका लागि मैले सहलेखन गरेको र सन् २०१७ मा भएको एक अध्ययनले देखाएको थियो कि ब्रेक्जिट मध्यम वर्गका मतदातामा आर्थिक असुरक्षासँग निकट सम्बन्धित थियो, जुन विदेशमा व्यापक रूपमा कभरेज भयो तर ब्रिटेनमा प्रायः बेवास्ता गरिएको थियो ।

त्यो समयमा आर्थिक कठिनाइलाई केवल कामदार वर्ग र अत्यन्त गरिबसँग सीमित देखाउनु सामान्य र राजनीतिक रूपमा सुविधाजनक थियो तर त्यसयता ब्रिटिस मध्यम वर्गको ठुलो हिस्सा अब सुरक्षित वा आरामदायक रूपमा सम्पन्न छैन भन्ने स्पष्ट भएको छ। यद्यपि युकेको आर्थिक पतनको वास्तविकता सार्वजनिक बहसबाट प्रायः अनुपस्थित छ, सम्भवतः किनभने यसले राष्ट्रिय गौरवको एक प्रमुख स्रोतलाई चुनौती दिन्छ।

कन्जरभेटिभ–लेबर पार्टीबाहिर मतदान गर्नेहरूलाई अलग्गै देखाउनु सरल छ तर उनीहरूले गरेका विकल्पहरूले ब्रिटेनको आर्थिक मोडेलको असफलतामा केके देखाउँछ भन्ने सामना गर्नु त्यति सहज छैन। विशेष गरी गोर्टन र डेन्टन पिछडिएको निर्वाचन क्षेत्र हुन् तर स्पेन्सरको विजय यसको सीमाभन्दा बाहिर प्रतिध्वनित भएको छ, किनकि उनको सन्देश व्यापक र गहिरो जरा गाडेका असुरक्षासँग सम्बन्धित छ, जुन मुख्य धारका राजनीतिक दलहरूले प्रायः स्वीकार गर्दैनन्।

स्पेन्सरको निर्वाचनले धेरैलाई आश्चर्यचकित बनायो, किनभने हरित पार्टीले पहिले संसदमा केवल एक सिट मात्रै राखेको थियो तर यो अर्को कारणका लागि पनि अप्रत्याशित थियोः उनका प्रस्तावित नीतिहरू सैद्धान्तिक रूपमा गुडविनले वर्णन गरेका पछाडि परेका समुदायलाई अपिल गर्ने खालका थिएनन्। उनको विवरणअनुसार यी मतदाताहरू मुख्य रूपमा सांस्कृतिक रक्षात्मकता र आप्रवासन विरोधी भावनाबाट प्रेरित छन्। धेरै मुख्यधारा राजनीतिक नेताहरू, जसमा लेबर पार्टीको ठुलो हिस्सा पनि छ, राजनीतिक असन्तोषलाई बढ्दो आर्थिक असुरक्षाको प्रतिक्रिया नभएर आप्रवासनको प्रतिक्रिया हो भनेर व्याख्या गरेका छन्।

वृद्धि हुँदै गएको आर्थिक असुरक्षाको भावना मूलतः आप्रवासनसँग सम्बन्धित छ भन्ने पूर्वधारणा स्वीकार गरेर मुख्य धारका दलहरूले अप्रत्यक्ष रूपमा नागरिकको सुरक्षा सुनिश्चित गर्ने एक मात्र उपाय आप्रवासनलाई प्रतिबन्धित गर्नु वा कम्तीमा त्यसो गरेको देखिनु हो भन्ने स्वीकार गरेका छन्। स्पेन्सरको विजयले वैकल्पिक मार्ग देखाउँछः आप्रवासी वा जातीय अल्पसंख्यकहरूको विरोधभन्दा आर्थिक अभिजात वर्गको आधिपत्यलाई चुनौती दिनु। उनले आफ्नो विजय भाषणमा भनिन्– ‘सुखी जीवनका लागि काम गर्नुको सट्टा हामी अर्बपतिहरूको झोला भरिरहेका छौं । हामीलाई झन् शोषित पारिएको छ।’

धनको केन्द्रीकरण अर्थात् आर्थिक कन्सन्ट्रेसन र आर्थिक असमानतातर्फ जनताको असन्तोषलाई निर्देश गर्दा राजनीतिक सम्भावना धेरै देखिन्छ तर यसका लागि मतदातालाई मुख्यधारको राजनीतिबाट टाढा लैजाने वास्तविक कारण के हो भन्ने बुझ्न आवश्यक छ। स्पष्ट छ, आप्रवासन मुख्य कारण होइन, यो केवल मानिसहरूको बढ्दो आर्थिक असुरक्षाको सजिलो व्याख्या हो।

गुडविनको चुनाव हार ब्रिटिस समाजको यही व्याख्याको हार पनि हो र युरोपभरिका राजनीतिक नेताहरूका लागि मूल्यवान् पाठ हो। उनीहरूले जनमतवादी लहर रोक्न चाहन्छन् भने उनीहरूले आर्थिक असुरक्षा र राजनीतिक प्रतिष्ठानप्रति जनताको रिस र असन्तोषको सामना गर्नुपर्छ।

–लरेन्जा क्याम्ब्रिज विश्वविद्यालयमा समाजशास्त्र विषयकी सहप्राध्यापक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

election election 2082