ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्थानीय जनमतको ‘अपमान’ गर्नेको ‘लज्जास्पद’ पराजय
2082 General Candidates Update

स्थानीय जनमतको ‘अपमान’ गर्नेको ‘लज्जास्पद’ पराजय

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 6:08 AM 51 views
<p>काठमाडौं । स्थानीय सरकारको संवैधानिक हैसियत भएको स्थानीय तहको कार्यकाल पूरा नगरी राजीनामा गरेर संघीय संसद्् ताक्ने अधिकांश जनप्रतिनिधिले लज्जास्पद पराजय ब्यहोरेका छन् । राजनीतिक दलबाट उम्मेदवार भएकाहरूले पार्टीभित्र प्रभावका आधारमा टिकट हात पार्दै चुनाव लड्न गएपनि मतदाताले दलीय प्रभावमा स्थानीय तह चुनाव जित्ने र अवधिअघि नै राजीनामा दिएर जानेलाई मतबाटै अस्वीकार गरेका हुन् । [&#8230;]</p> <p>The post स्थानीय जनमतको ‘अपमान’ गर्नेको ‘लज्जास्पद’ पराजय appeared first on राजधानी राष्ट्रिय दैनिक (...

काठमाडौं । स्थानीय सरकारको संवैधानिक हैसियत भएको स्थानीय तहको कार्यकाल पूरा नगरी राजीनामा गरेर संघीय संसद्् ताक्ने अधिकांश जनप्रतिनिधिले लज्जास्पद पराजय ब्यहोरेका छन् । राजनीतिक दलबाट उम्मेदवार भएकाहरूले पार्टीभित्र प्रभावका आधारमा टिकट हात पार्दै चुनाव लड्न गएपनि मतदाताले दलीय प्रभावमा स्थानीय तह चुनाव जित्ने र अवधिअघि नै राजीनामा दिएर जानेलाई मतबाटै अस्वीकार गरेका हुन् ।

संविधानकै व्यवस्थासँग असहमत हुँदै विद्रोह आह्वान गरी आफैलाई प्रधानमन्त्री प्रस्तावित गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) बाहेक सबैजसो प्रमुख उपप्रमुखले पराजय ब्यहोरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर राजीनामा गरेर चुनावमा होमिएका शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गरेका छन् । देशकै चर्चित निर्वाचन क्षेत्रको रूपमा झापा क्षेत्र नम्बर–५ बाट तीनपटक प्रधानमन्त्री र ५ पटक सांसद भएका ओलीलाई शाहले पहिलो प्रयासमै ऐतिहासिक मतान्तरसहित पराजित गरेका हुन् ।

सुनसरी–१ बाट उम्मेदवार भएका धरानका मेयर साम्पाङले पनि स्थानीय सरकार सञ्चालनमा दलीय आबद्धताबाट आएको टिमका कारण असहयोग भएको भन्दै आएका थिए । साम्पाङले वैकल्पिक राजनीतिको वकालत गर्दै आफैंले राष्ट्रिय श्रम संस्कृति पार्टीको स्थापना गरी राजनीतिमा होमिएका थिए । साम्पाङको राजनीतिक अभियानले ३ सिट प्रत्यक्षमा जितेको छ भने समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउने अवस्थाको नजिक छ ।

शाह र साम्पाङ बाहेक स्थानीय तहका जनप्रतिनिधिले लज्जास्पद पराजय ब्यहोर्न ुपरेको छ । नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार भएकी रेनु दाहालले ठूलो मतान्तरले पराजय ब्यहोर्नुपरेको छ ।

विकासका लागि भरतपुर मोडल स्थापित गर्ने भन्दै प्रचारमा उत्रिएकी दाहाललाई रास्वपाकी सोविता गौतमले पराजित गरिन् । गौतमले दाहाललाई झन्डै तेब्बर मतान्तरले पराजित गरिन् । चितवन–३ मा गौतमले ५९ हजार २७७ मत ल्याउँदा निकटतम भए पनि दाहालले २० हजार ६१५ मत ल्याइन् । नेकपा एमालेबाट उम्मेदवार भई २०५४ को स्थानीय निकाय देखि २०७४ र २०७९ मा धुलिखेल नगरपालिकाको मेयर भएका अशोककुमार ब्याञ्जु आफ्नो पूर्वकार्यकर्ता रास्वपा उम्मेदवार बदन भण्डारीसँग पराजय भोगे ।

स्थानीय तहको म्यान्डेट नसकिँदै राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका ब्याञ्जुलाई चार दोब्बर मतान्तरले भण्डारीले पराजित गरेका हुन् । काभ्रे–२ बाट उम्मेदवार भएका ब्याञ्जुले १३ हजार ९४० मत ल्याउँदा उनलाई पराजित गर्ने भण्डारीले ५३ हजार ३४४ मत ल्याएर विजय हासिल गरे । त्यस्तै, इलाम क्षेत्र नम्बर–१ बाट उम्मेदवार भएका सूर्योदय नगरपालिकाका निवर्तमान मेयर रणबहादुर राईले पनि हार निकट छन् ।

सूर्योदय नगरपालिकाको दुई कार्यकाल मेयर भएका राईले पनि कार्यकाल नसकिँदै राजीनामा गरेर संघीय सांसद हुने लोभ देखाउँदा पराजय भोग्ने निश्चित देखिएको छ । ओखलढुंगा लिखु तामाकोशी गाउँपालिकाकी उपप्रमुख अस्मिता थापा पनि रास्वपाका उम्मेदवार विश्वराज पोखरेलसँग पराजित भइन् । केही महिनाअघि मात्रै रास्वपा प्रवेश गरेका पूर्वएआईजी पोखरेलले कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गरे ।

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले गाउँपालिका उपाध्यक्ष राजीनामा गरेर उम्मेदवार भए पनि उनी चौथो भइन् । नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित भएकाहरूलाई चुनावमा टिकट नदिने मापदण्ड बनाएका कारण जनप्रतिनिधिहरू जोगिए । कांग्रेस मापदण्डविपरीत उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष राजीनामा गरेर स्वतन्त्र उम्मेदवार भएका मेजरकुमार राई भने ‘डबल डिजिट’मा सीमित भएका छन् ।

गाउँपालिका अध्यक्ष राजीनामा गरेर सांसद बन्न आएका राईको ९० भोट आउँदा रास्वपाका सूर्यबहादुर तामाङले उदयपुर–१ मा १४ हजार ८०२ मत ल्याएर चुनाव जितेका छन् । कांग्रेसको आधिकारिक उम्मेदवार रामकुमार राई भने ७ हजार २९० मत ल्याएर तेस्रो भएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको उपाध्यक्षबाट राजीनामा गरेर उम्मेदवार भएका एमाले उम्मेदवार खिमबहादुर थापालाई रास्वपाका ३३ वर्षे उम्मेदवार झवीलाल डुम्रेले पराजित गरेका छन् ।

डुम्रेले २५ हजार ३५४ मत ल्याएर विजयी हुँदा एमाले उम्मेदवार थापा १४ हजार १०८ मत ल्याएर तेस्रो भए । २०७४ र २०७९ सालमा गाउँपालिका अध्यक्ष भएका थापाले संघीय सांसदको लोभ गर्दा जनप्रतिनिधि बन्नबाट जनताले नै रोके । टिकापुर नगरपालिकाका मेयर रामलाल डगौराले पनि जनमतको अपमान गर्दै संघीय सांसद ताक्दा जनताले तेस्रो बनाइदिएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट मेयर जितेका डगौराले मेयर राजीनामा गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेर कैलाली क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार भएका थिए । डगौरालाई रास्वपाकी कोमल ज्ञवालीले दोब्बर मतान्तरले पराजित गरिन् । ज्ञवालीले १७ हजार ८२६ मत ल्याउँदा मेयर राजीनामा गरेका डगौराले ८ हजार ३९२ मत ल्याएर तेस्रो भए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राईले कार्यकाल नसकिँदै राजीनामा गरी संघीय सांसदको उम्मेदवार बन्न खोज्दा जमानत समेत जोगाउन सकेनन् । राईलाई नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले पराजित गरे । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट बाँके–२ मा उम्मेदवार भएका कमरुद्धिन ९०८ मत ल्याएर छैटौं भए ।

मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवालले पनि जनमतको अपमान गर्दै राजीनामा गर्दा जनताले अस्वीकृत गरिदिएका छन् । नेकपा एमालेबाट स्थानीय तह निर्वाचनमा जितेका अग्रवाललाई २५ हजारभन्दा बढी मतान्तरसहित रास्वपाका कृष्णकुमार कार्कीले पराजित गरेका छन् । कार्कीले ४० हजार ९२४ मत ल्याउँदा पूर्वमेयर अग्रवालले १५ हजार ६२४ मत ल्याएका हुन् ।

The post स्थानीय जनमतको ‘अपमान’ गर्नेको ‘लज्जास्पद’ पराजय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082