ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नारी नेतृत्व
2082 General Election

नारी नेतृत्व

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 8:23 AM 41 views
यस पटकको नारी दिवस मुलुकमा सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रमकै बिचमा परेको छ।

यस पटकको नारी दिवस मुलुकमा सम्पन्न आमनिर्वाचनको परिणाम आउने क्रमकै बिचमा परेको छ। हाम्रो मुलुकले नारीका उपलब्धि अपेक्षा गरेअनुसार पाइसकेको छैन। तथापि, मुलुकमा जति उपलब्धि भएका छन्, त्यसमा तिनको योगदान अनुपमेय छ। तिनले आफूलाई अग्रणी स्थानमा राखेका छन्। यसपटक संयोग त्यस्तै परेको छ। गत भदौको जेनजी अभियानपछिको विषम परिस्थितिमा मुलुकको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको काँधमा रहेको हो। उनकै कारण आज मुलुक एउटा विकट स्थितिबाट निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने अवस्थामा आइपुगेको छ।

कार्की नै न्यायालयको सबैभन्दा उपल्लो स्थानमा पुग्ने पहिलो प्रधान न्यायाधीशसमेत बन्न पुगिन्। मुलुकको आधुनिक राजनीतिक इतिहास प्रारम्भ भएको २००७ सालपछिको प्रधानमन्त्रीको कुर्सीमा पुग्ने पहिलो महिला पनि भइन्। स्वाभाविक र सहज अवस्था हुँदो हो त सायदै मुलुकले कुनै महिलालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याउँदो हो। मुलुकमा महिलालाई नै दलको नेतृत्वमा पुर्‍याउने दल नभएसरह छ। बरु २०४६ सालको जनआन्दोलन भइरहेका बेला सहाना प्रधानलाई वाममोर्चाको अध्यक्ष बनाएको देखिएको छ। त्यसयता कुनै पनि दलको नेतृत्वमा महिला पुग्न पाएनन्।

जनआन्दोलन २०६२/६३ पछिको मुलुकको स्थिति महिला प्रतिनिधित्वका हिसाबले परिवर्तन भएको हो। महिलालाई संसदलगायतका स्थानमा ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउनैपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ। यसले गर्दा निर्वाचनका बेला ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउन दलहरूले उपाय लगाउनुपर्ने अवस्था छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट ३३ प्रतिशत महिला निर्वाचित भई आउन सक्ने अवस्था छैन। त्यस्तो अवस्थामा समानुपातिकतर्फको निर्वाचनबाट पनि उनीहरूलाई प्रतिनिधित्व गराउन यसअघि निर्वाचन आयोगमा बुझाइसकेको सूचीबाट सदस्य छान्नुपर्ने व्यवस्था छ।

पछिल्ला वर्षमा महिला प्रतिनिधित्वको अनिवार्यतालाई ध्यानमा राख्दै राज्यका निकायमा पनि तिनका निम्ति स्थान तय गरिँदै आएको छ। तदनुकूल लोकसेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएर पनि महिलाहरू राज्यका निकायमा पुग्दै आएका छन्। अहिले राज्यका निकायमध्ये निजामती, सेना, प्रहरीलगायतमा महिलाको उल्लेख्य उपस्थिति देखिँदै छ तर यो संख्या आफैंमा पर्याप्त छैन। निजामतीतर्फ महिलाले मुख्य सचिवको जिम्मेवारीमा पुग्ने मौका पाए पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा महिलाले प्रमुख स्थानमा पुग्ने मौका पाइसकेका छैनन्। आशा गरौं, भावी नेतृत्वमा महिलालाई पुर्‍याउने गरी काम हुन्छ।

सार्वजनिक जीवनमा महिलाले पुग्ने मौका नपाए पनि घरपरिवार र समाजमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। प्रत्येक घरमा आमाको नेतृत्वले परिवारलाई बलियो बनाएको देखिन्छ। परिवारमा पुरुष शिक्षित भए एकजना मात्र शिक्षित हुन्छ तर महिला शिक्षित भए पूरै परिवार शिक्षित हुन्छ भन्ने भनाइ चर्चित छ। हाम्रो मुलुकमा सामुदायिक वन वा यस्तै अन्य पहलमा महिलाको भूमिका प्रभावकारी देखिइसकेको छ। जनस्वास्थ्यका क्षेत्रमा पनि महिलाको योगदान अतुलनीय रहेको छ। आजको दिनमा कला, पत्रकारिता, वकालत, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा तिनको योगदान उल्लेख्य छ। खेल क्षेत्रमा नेपालले गौरव गर्ने कतिपय नाम महिलाकै छन्। यस अर्थमा पनि समाजलाई अग्रगति दिन महिला क्षमताको कदर गर्दै अगाडि बढाउन योगदान गर्नुपर्ने अवस्था छ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘गिभ टु गेन’ अर्थात् उपलब्धिका निम्ति देऊ भन्ने रहेको छ। यसको अर्थ उदारता र सहकार्यका निम्ति हाम्रो मनस्थितिमा सुधार ल्याउनुपर्छ भन्ने हो। महिला र बालबालिकाले जीवनका बहुआयामिक क्षेत्रमा हासिल गरेका उपलब्धिलाई पहिचान गर्ने र सार्वजनिक जानकारीमा ल्याउने पनि हो। यस्ता उपलब्धिको चर्चा गर्न सक्दा अरूलाई यस क्षेत्रमा आउन प्रेरणा हुन्छ।

यसका निम्ति हाम्रा प्रधानमन्त्री सुशीला कार्की ताजा उदाहरण हुन्। आज प्रत्येक महिलाले उनको कामको प्रशंसा गरिरहेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी लिएका बेला दलहरूबिचको व्यापक विभाजनकारी मानसिकतालाई परिवर्तन गर्न उनले ठुलो मेहनत गरेकी छन्। मुलुक झन्डै राज्यविहीनताको अवस्थामा रहेका बेला उनले जिम्मेवारी लिएकी थिइन्। आज देशलाई नयाँ निर्वाचित सरकार दिएर उनी बिदा हुँदै छिन्। योभन्दा उल्लेख्य उपलब्धि नारी दिवसका निम्ति अर्को के हुन सक्छ? यसले मुलुकमा आज भएका र भविष्यमा जन्मिने छोरीका निम्ति पनि गहिरो दृष्टान्त प्राप्त हुनेछ।

महिला दिवस एक दिन मनाउने र बाँकी दिनमा बिर्सने भन्ने होइन। हरहमेसा हाम्रो ध्यान तिनलाई जीवनका सर्वाङ्गीण क्षेत्रमा पुर्‍याउनुपर्छ भन्ने हो। त्यति मात्र होइन, महिलालाई जिम्मेवारीमा पुर्‍याउनुको अर्थ पुरुषहरूले बोकिरहेको अनावश्यक जिम्मेवारीको भारी पनि कम गर्नु हो। अतः महिलालाई उपलब्धिमा पुर्‍याऔं, मुलुकलाई उन्नतितर्फ उन्मुख गराऔं। नारी दिवसको शुभकामना!

election election 2082