ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
निर्वाचन परिणाम हामी अनुकूल आएन, अब गहिरो र निर्मम समीक्षा गर्छौं : विश्वप्रकाश
2082 General Parties Analysis

निर्वाचन परिणाम हामी अनुकूल आएन, अब गहिरो र निर्मम समीक्षा गर्छौं : विश्वप्रकाश

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:03 PM 56 views
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पार्टीको अनुकूल नआएको स्वीकार गर्दै यसको गहिरो र निर्मम समीक्षा गरिने बताएका छन्।...

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम आफ्नो पार्टीको अनुकूल नआएको स्वीकार गर्दै यसको गहिरो र निर्मम समीक्षा गरिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले निर्वाचनको नतिजा अनपेक्षित नभएको उल्लेख गर्दै नागरिकको चाहना र बदलिँदो मनोविज्ञानलाई समयमै बुझ्न नसक्दा कांग्रेसले हार व्यहोर्नुपरेको बताएका हुन्।

उनले २०७९ सालको स्थानीय तह निर्वाचनमा धरान, धनगढी र काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूले जितेर दिएको सन्देशलाई कांग्रेसले पर्याप्त रूपमा ध्यान नदिएको बताए। मतदाताले ‘सरकारको काम गराइ बदल, दल बदल, नत्र हाम्रो मन बदलिन्छ’ भन्ने स्पष्ट सन्देश दिए पनि पार्टीले अपेक्षित गतिमा आफूलाई बदल्न नसकेको उनको भनाइ छ।

शर्माका अनुसार नागरिकको त्यही असन्तुष्ट मनलाई मतमा बदल्ने अवसर नयाँ दलले उपयोग गरेपछि नयाँ राजनीतिक शक्तिको उदय भएको हो।

उनले संसद्को पहिलो दल बने पनि कांग्रेसले सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षमा रहँदा प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गरे। सरकारको काम गराइ र गति सुधार्न नसक्दा आम नागरिकमा असन्तुष्टि, निराशा र विद्रोहको भावना बढेको उनले बताए।

पार्टीभित्र सुधारका प्रयासस्वरूप महाधिवेशनपछि नीति अधिवेशनलगायत अभियान सञ्चालन गरिए पनि त्यो पर्याप्त नभएको उनले स्वीकार गरेका छन्। पार्टीभित्रका समस्यालाई ‘एमआरआई’ गरेर अध्ययन गरी दस्तावेज बनाउने प्रयास भए पनि लोकप्रियतावाद (पपुलिजम) लाई चिर्न नसकिएको उनको भनाइ छ।

शर्माले परिवर्तन समाजको स्थायी अपेक्षा भएको उल्लेख गर्दै आम नागरिकले प्रशासन, दल र सरकार सबै क्षेत्रमा परिवर्तन चाहेको बताए। तर कांग्रेसले परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्ने सन्देश जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउन नसकेको उनको स्वीकारोक्ति छ।

उनले अब छिट्टै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेर निर्वाचन परिणामबारे गहिरो समीक्षा गरिने जानकारी दिए। यो हारलाई सामान्य रूपमा नलिई वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व तथा पार्टी सञ्चालन प्रक्रियाका कमजोरीहरूलाई एक–एक गरेर केलाइने उनले बताए।

शर्माले विगतका निर्वाचनदेखि अहिलेसम्म सरकार र पार्टी सञ्चालनमा कहाँ–कहाँ कमजोरी भए भन्ने विषयमा गहन अध्ययन गरेर पार्टीलाई नयाँ ढंगले सशक्त र ऊर्जाशील बनाइने दाबी गरेका छन्।

पराजयको घडीमा निराश नहुन, संयम अपनाउन र एकताबद्ध भएर अघि बढ्न उनले पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्। साथै उनले लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विजयी सबै उम्मेदवारलाई बधाई दिएका छन्।

parties election 2082