पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तरगत कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।
कास्की १ मा खडकराज पौडेल (गनेश) ले अग्रता कायमै राखेका छन् । दिउँसो साढे ४ बजेसम्मको नतिजामा उनले हालसम्मको मतगणनामा ८ हजार १२९ मत प्राप्त गरेका छन् । यसैगरी,नेकपा (एमाले) का उम्मेदवार वैनबहादुर क्षेत्री (अधिकारी) ले ४ हजार ८२६ मत ल्याएका छन् । नेपाली कांग्रेसका तिलक रानाभाटले ४ हजार ३६१ मत ल्याएका छन् ।
कास्की १ को मतगणना पोखरा १२, वडा कार्यालयको भवनमा गएरातिदेखि जारी छ । यसैगरी, कास्की २ मा रास्वपाका उत्तम पौडेलले अग्रता कायमै राखेका छन् । उनले १० हजारभन्दा बढीको मतान्तर कायम गरिसकेका छन् । हालसम्म २४ हजार २८ मतगणनामा उनले १४ हजार ४२७ मत प्राप्त गरेका छन् ।
एमालेका रश्मि आचार्यले ४ हजार ३९३ मत प्राप्त गरेका छन् । पोखरा ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्था आयोजनाको भवनमा मतगणना कार्य जारी छ ।
विगतको नतिजा हेर्ने हो भने कास्की २ मा एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेको थिएन । आफ्नो गढ मान्दै आएको कास्की २ मा समेत एमालेले नराम्ररी पराजित हुने प्रारम्भिक संकेत देखिन्छ । कास्की २ मा ८४ हजार १३४ मतदाता छन् ।
कास्की २ को अन्तिम मतपरिणाम शनिबारसम्म आइपुग्ने कास्की क्षेत्र २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले जानकारी दिए । कास्की २ मा २० जना गणकले मतगणना गरिरहेका छन् ।
उता, कास्की ३ मा रास्वपाकि बिना गुरुङले करिब ५ हजार ५ सय मतान्तरले कायम गरेकी छन् । जारी मतगणनामा २३ हजार ४१७ मतमध्ये उनले ११ हजार ६०३ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेकी हुन् । जब कि नेपाली काँग्रेसका मनोज गुरुङले ६ हजार १९२ मत प्राप्त गरेका छन् ।
अघिल्ला दुई वटा चुनाव जितेको नेकपा एमालेले तेस्रो स्थानमा छ । एमालेका दामोदर पौडेल बैरागीले ३ हजार २५३ मत ल्याएका छन् । नेकपाका गोपाल गिरीले ६४६ मत ल्याएका छन् ।
कास्की ३ को मतगणना पोखरा ५ मालेपाटनस्थित कृषि मन्त्रालयमा जारी छ । २०७४ र ०७९ को चुनावमा कास्कीका तीनवटै चुनाव एमालेले जितेको थियो ।
The post कास्कीका तीनवटै क्षेत्रमा रास्वपाका उम्मेदवार फराकिलो मतान्तरले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....